काठमाडौं । पूर्व राजदूत एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओको जारी नेपाल भ्रमणले नेपालले अंगीकार गर्दै आएको एक चीन नीतिलाई अझ व्यवहारिक रुपमा अगाडि बढाएको बताउनुभएको छ ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै श्रेष्ठले लिउले सत्तारुढ दल तथा विपक्षी दलका नेताहरुलाई भेटेर नेपालका सबै दलहरु एक चीन नीतिप्रति दृढ छ भन्ने सन्देश लिन सफल भएको बताउनुभयो । उहाँले विदेश विभगा प्रमुख लिउको नेपाल भ्रमणले दुई मुलुकबीच मात्र नभइ दुई देशका पार्टीहरुबीचको सम्बन्धलाई समेत विकसित गरेको बताउनुभयो ।
भ्रमणका बेला नेपालले चीन विरुद्धका गतिविधिहरुलाई रोक्ने प्रतिबद्धता समेत गरेको कुटनीतिज्ञ श्रेष्ठले बताउनुभयो ।
उहाँले पछिल्लो समयमा अन्य मुलुकका परराष्ट्र प्रमुखहरु समेत नेपाल भ्रमणमा सक्रिय भएका बेला पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी लिएपछिको पहिलो विदेश भ्रमणमा नेपाललाई लिनुलाई नेपालीहरुले गौरवको रुपमा लिएको समेत बताउनुभयो ।
नेपालमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि चीनले नेपाललाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नहुने संकेत पनि चीनले दिएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस भ्रमणले कम्युनिष्ट पार्टीले कम्युनिष्ट पार्टीसँग मात्र सम्बन्ध विस्तार गर्छ भन्ने होइन,नेपाली कांग्रेसँग लगायत अन्य पार्टीसँग पनि उस्तै सम्बन्ध विकसित गर्न चीन तयार रहेको छ ।,
श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी व्यापक रहेता पनि नेपालका सबै दलहरुसँग सम्बन्ध विस्तार गर्न चाहेको समेत बताउनुभयो ।