काठमाडौै । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं महानगर समितिका सचिव सुसन बैद्यले केन्द्रमा गठबन्धन दलहरुसँग स्थानीय तहमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेतापनि आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एक्लै चुनाव लड्न तयार भएको बताएका छन् ।
क्यापिटल एफएमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै नेता बैद्यले अहिलेको अवस्थामा नेपाली कांग्रेस एक्लै चुनाव लडेपनि काठमाण्डौ महानगरपालिका २२ वटा वडामा जित्ने दाबी गरे ।
काठमाण्डौ महानगरको केही साझा समस्या भएको बताउँदै नेता बैद्यले यस्ता समस्याहरु काठमाण्डौको मात्र नभएर यससँग जोडिएका अन्य नगरपालिकाको पनि भएको बताए । काठमाडौं महानगरपालिका भनेको राजनीतिक इकाइ मात्र भएको बताउँदै नेता बैद्यले काठमाडौं महानगरपालिको भौगोलिक इकाइ उपत्यकाका अन्य नगरपालिका पनि भएको बताए ।
विश्वको तेश्रो बढी प्रदुषित शहर मध्येको एक काठमाण्डौको वायु प्रदुषणको समस्या काठमाण्डौको मात्र नभएको बताउँदै नेता बैद्यले यसको समाधानका निम्ति आसपासका सबै नगरपालिकासँगको सहकार्यमा मात्र सम्भव हुने बताए । उनले काठमाडौंको फोहर व्यवस्थापन गर्ने दीर्घकालिन सोच नेतृत्वसँग नभएका कारण अहिलेसम्म पनि यसको स्थायी समाधान हुन नसकेको बताए ।