काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने संकेत गरेका छन् । आज वीरगञ्जमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई चुनावसम्मै लैजाने विषयमा सकारात्मक छलफल भइरहेको बताए ।
अरूसँग गठबन्धन नगरि चुनाव लड्दा विगतमा धेरै ठाउँमा पराजित भएको स्मरण गर्दै देउवाले आउने चुनावमा मिलेर जाँदा स्थानीयदेखि सङ्घीय सरकारसम्म गठबन्धनकै सरकार रहिरहने दाबी गरे । उनले गठबन्धनका दलहरूलाई चित्त दुख्ने गरी आरोप नलगाउन पनि नेपाली कांग्रेसका नेता/कार्यकर्तालाई आग्रह गरे ।
माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरूले साथ दिएकैले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सम्भव भएको भन्दै देउवाले अरू दलको चित्त दुख्ने गरी बोली व्यवहार नगर्न पनि नेता÷कार्यकर्तालाई सुझाव दिए ।