काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन् । उनले गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने भन्दै गठबन्धनको औचित्य सकिएको पनि बताएका हुन् ।
बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरूसमेत सहभागी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताए ।
थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले खुला छलफल गर्न आफूहरू तयार रहेको जानकारी दिएको पनि बताए । उनले एमसीसी देशको विषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनको अवरोध हटाउन एमालेसँग आग्रह गरिएको पनि बताए ।
दलीय सहमतिका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच पुनः छलफल हुने नेता थापाले जानकारी दिएका छन् ।