काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज संसदनमा टेबुल हुने एमसीसी कुनै पनि हालतमा पारित नहुने बताएका छन् ।
क्यापिटल एफ.एमको सिधा कुरामा बोल्दै केसीले एमसीसी पास गर्ने प्रयत्न र षडयन्त्र लामो समयदेखि भएपनि संसदबाट पास हुन सजिलो नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री मात्रैले जिउ फालेर लागेर पास हुन्न, अब सांसदहरुलाई पनि अमेरिकाको पक्षमा उभिएर नेपाली जनताको अगाडि नाङ्गो स्वरुप देखाउन गाह्रो पर्छ ।’
केसीले एमसीसी पास नगर्दैमा अमेरिकी जनतासँगको सम्बन्ध नबिग्रने बताए । उनले शासक र जनताबीचको सम्बन्ध फरक भएकाले एमसीसीकै कारण अमेरिकासँगको सम्बन्ध नबिग्रने बताए ।
अहिले नेपालमा एमसीसीका बारेमा नेपाली काँग्रेस र केही बुद्धिजिवीले मात्र वकालत गरेको बताउँदै केसीले देशका अधिकांश पार्टीहरु र नेपाली जनताहरुले राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि विदेशीको हस्तक्षेपको विरुद्धमा रहेको बताए ।
एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने संकेत देखिएका बेला केसीले गठबन्धन एमसीसी पास गर्नको निम्ति नभएर प्रतिगमनको विरुद्धका निम्ति मात्र भएको बताए ।