काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले अहिलेको सत्ता गठबन्धनको दोहोरो चरित्रको चपेटामा एसीसी परेको बताएका छन् ।
क्यापिटल एफएमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै भट्टराईले एमसीसीका बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनैबेला सुटुक्क सम्झौता गरेर बाहिर आएर विरोध गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले भने, ‘कुनैबेला सुटुक्क सम्झौता गर्ने र कुनैबेला त्यसैको विरोध गरेर आफ्नो राजनीतिक रोटी सेक्ने जुन काम भएको छ त्यो चाहिँ निःसन्देह दुःखद् कुरा हो ।’
माओवादी अध्यक्ष प्रचण्डको एमसीसी केन्द्रीय कार्यालयमा एमसीसी पास गर्ने प्रतिबद्धता सार्वजनिक भएको प्रति लक्षित गर्दै भट्टराईले एमसीसी सम्झौता गर्नुपूर्व राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने नसोच्ने नेपाली कांग्रेस र माओवादीले अहिले यो बिषयलाई गिजोल्ने काम गर्नु आश्चर्यजनक भएको बताए ।
भट्टराईले यदि सम्झौता ठीक थिएन भने किन सम्झौता गरियो भनी प्रश्न गर्दै भने, ‘सम्झौता राष्ट्रघाती थियो भने सम्झौता गर्नु नै हुन्थेन, पहिला सम्झौता गर्ने अनि त्यही मान्छे फेरि यसलाई गिजोल्ने काम गरिरहेका छन् । यो चाहिँ नेपालको हितमा हुँदैन ।’
एकिकृत समाजवादी पार्टी प्रचण्डको डिजाइनमा चल्ने पार्टी भएको आरोप लगाउँदै भट्टराईले प्रचण्डले पाँच महिनाभित्र एमसीसी पास गर्ने प्रतिबद्धता एमसीसी केन्द्रीय कार्यालयमा गरिसकेकाले एमसीसीको विरोध गर्नुको कुनै औचित्य नभएको बताए ।