काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयलाई बिर्सेर आआफ्नो कमजोरी सुधार गर्दै विपक्षीसँग लड्नका लागि तयारी गर्नुपर्ने भएकाले बेला त्यतापट्टि ध्यान दिन उनले नेता कार्यकर्तालाई सुझाव दिए । पार्टीको १४ औँ महाधिवेशनबाट युवाको आकर्षण बढ्दै गएको उनले बताए ।
पार्टीलाई कुनै कम्पनी जस्तो होइन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिए । कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस क्षेत्र नं २ का सभापति दिलीपप्रताप खाँणले नेपाली काँग्रेसको सङ्गठनलाई टोलटोलमा विस्तार गर्ने बताए ।
उनले पार्टीमा विजेता उपविजेता सबै एकताबद्ध भएर आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाए ।