काठमाडौं। नेपाली काँग्रेसका नेता शेखर पक्षको बैठक राजधानीको एक होटलमा बसेको छ। बैठकमा नेता कोइरालाले प्रस्तुत गरेको ४ बुँदेप्रति केन्द्रीत रहेर अन्य नेताहरुले धारणा राखिरहेका छन् ।
सहभागीहरुले बोल्ने क्रममा सभापति शेरबहादुर देउवा सच्चिन जरुरी रहेको भन्दै केन्द्रीय कमिटीमा १३ जनाको मनोनयनमा समेत विभेद भएको धारणा राखेका छन् ।
यस्तै बैठकमा नेताहरुले पार्टीलाई गुटबन्दी गरेर नभइ मिलाएर लैजानुपर्नेमा पनि जोड दिएका छन्। बैठकमा सहभागी भएर बाहिरिएका नेता रामशरण महतले आफू गुटबन्दीको पक्षमा नरहेको बताए। ‘म गुटबन्दीको पक्षमा छैन । पार्टीलाई मिलाएर एकढिक्का बनाएर अघि बढाउनुपर्छ’, बैठकस्थलबाट बाहिरिने क्रममा नेता महतले भने ।
यस्तै अर्का नेता अर्जुन नरसिंह केसीले पार्टी सभापतिले नै पार्टीमा एकताको वातावरण विगारेको आरोप लगाए । यद्यपि काँग्रेसलाई कुनैपनि हालतमा दुर्घटनातर्फ जान नदिने भन्दै त्यसका लागि आफूले पनि पहल गर्ने बताए ।
यसअघि ४ बुँदे धारणा राख्दै पार्टीमा लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे दुर्घटना हुने बताएका थिए । उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समिति सदस्यलाई मनोनयन गरेका हुन् भन्ने प्रश्न पनि गरेका थिए।
उनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको पनि बताएका थिए। उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरेका थिए।
भेलामा १४ औं महाधिवेशनमा शेखर पक्षबाट उम्मेदवार बनेकाहरुले आफ्नो धारणा राखिरहेका हुन् । भेलामा महामन्त्री गगन थापाले शेखरपछि आफ्नो धारणा राखेका थिए भने त्यसपछि अन्य नेताहरुले शेखरकै ४ बुँदेमाथि केन्द्रीत रहेर आफ्नो धारणा राखिरहेका हुन् ।