काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन नरहने बताएका छन् ।
क्यापिटल एमएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
वर्तमान पाँच दलीय गठबन्धन सरकार निर्माण गर्दा साझा न्यूनतम कार्यक्रम भनेर तय गरिएको र उक्त कार्यक्रमभित्र एमसीसीसँग भएको सम्झौतालाई पारित गर्ने कुरा नभएको उनले बताए । सरकार निर्माण गर्दा एमसीसी विवादित मुद्दा भएको हुँदा यथास्थितिमा त्यसलाई संसदबाट पारित गर्न पनि नसकिने र जनताबाट पनि यसको विरोध भइरहेको समयमा एमसीसी पारित गर्नु हुँदैन भनेर हटाइएको उनको भनाई छ ।
उनले विरोधका बावजुत एमसीसी पास गर्न खोज्ने ? देश प्रधानमन्त्री देउवाको ठेक्का हो भन्दै प्रश्न गरेका छन् । उनले अहिले नै एमसीसी संसदबाट पारित भएर जान्छ भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । यद्यपि, अहिले संचारमाध्यामहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका कुराहरु भइरहे पनि एमसीसी अहिले नै संसदमा प्रस्तुत भएर पारित हुन सक्ने अवस्था नरहेको बताए ।
साथै उनले अहिलेको गठबन्धनको सरकार कमजोर छ भनेर अहिले नै टिप्पणी गर्न उपयुक्त नहुने पनि बताएका छन् । ‘उनले भने, ‘अहिलेको गठबन्धन त्यति कमजोर छ । तुरुन्तै एउटा सानो धक्का लाग्ने बित्तिकै गठबन्धन भत्किहाल्छ भनेर पनि बुझ्नु त्यति उपयुक्त हुँदैन जस्तो लाग्छ ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले के गर्छन् र बाहिर के बोल्छन् भन्ने आधारबाट सिंगो देशको राजनीति चल्ने, सिंगो राजनीतिक शक्तिहरु त्यसैको वरिपरि घुम्ने भन्ने कुरा हुन नसक्ने बताए ।
एमसीसीसँग गरिएको सम्झौता जस्ताको त्यस्तै पारित गर्न हुँदैन भन्ने पक्षमा माओवादी रहेको उनले बताए । त्यसमा राष्ट्रिय हितका प्रतिकूल भएका प्रावधानहरुलाई संशोधन गरिनु पर्ने बताए ।
साथै उनले यो सम्झौता कुनै पनि हालतमा पारित गर्नु नहुने बताए । उक्त सम्झौता राष्ट्रिय हित विपरित रहेको र त्यसको उत्पति नै राष्ट्रिय हितको विपरित भएको हुँदा खारेज नै गर्नुपर्ने बताए ।
यतिबेला ठूलो जनमत एमसीसीसँग भएको सम्झौता खारेज गरिनु पर्छ भन्ने पक्षमा रहेको हुँदा यो सम्झौता खारेज नै गर्नुपर्ने बताए । साथै उनले यो सम्झौता असमान सम्झौता भएको बताएका छन् ।