भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट ११ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
आगामी मंसीर १० देखि १२ सम्म चितवनमा आयोजना हुने एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि चयन महाधिवेशन प्रतिनिधिहरुमा नेकपा एमाले बागमति प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला, प्रदेश कमिटी सदस्य तथा वागमति प्रदेश सभा सदस्य शशिजंग थापा, प्रदेश कमिटी सदस्यहरु निर्मलकुमार भट्टराई तथा भास्कर प्रधानाङ्ग, पार्टी जिल्ला कमिटी अध्यक्ष बचन देउजा, पार्टी सचिव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, जिल्ला कमिटी सदस्य तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ चयन भएका छन् ।
यसैगरी महिला प्रतिनिधिहरुमा जिल्ला कमिटी सदस्यहरु उत्तरा नेपाल र भागीरथा सिटौला तथा नगर कमिटी सदस्य तारा खड्का बस्नेत चयन भएका छन् भने समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विसुंखे सर्वसम्मत चयन भएको नेकपा एमाले सूर्यविनायक नगर संगठन कमिटी अध्यक्ष रविन्द्र सापकोटाले क्यापिटल दैनिकलाई जानकारी दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतको संयोजनमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको हो ।
यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत आगामी महाधिवेशनका निम्ति प्रतिनिधि सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको सापकोटाले बताए । यस क्षेत्रमा चाँगुनारायण र भक्तपुर नगरपालिका समेटिएको छ ।