काठमाडौं । सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ ।
यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका हुन् । कोरोना सङ्क्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गर्नुभयो ।