प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गर्नुभएको हो । हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमको रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताउनुभयो ।
त्यस्तै आज शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २ सय १० किलोमिटर रहेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताउनुभएको छ ।
शिलान्यास कार्यक्रममा मन्त्रीहरु तथा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।