काठमाडौ । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले नेपालकै ऐतिहासिक भवनलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गरी पुनर्निमाण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद ढकालले सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन वर्षौंदेखि बेहाल भएको बताए । उनले भने, ‘जीर्ण अवस्थामा रहेको सय वर्ष पुरानो राणाकालीन भवनको उचित संरक्षण नहुँदा यो भवन भग्नावशेष जस्तै बनेको छ। भवनका भित्ताहरुमा झारपातले जेलिएको छ। वि.सं.२०१५ सालमा पहिलो संसद बैठक बसेको यो भवन नेपालको ऐतिहासिक सम्पदा समेत हो। राणाकालीन कलाकृतिहरूले भरिपूर्ण नेपालकै ऐतिहासिक भवनलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गरी पुनर्निमाण गर्न म सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गर्दछु।’
सांसद ढकालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुभारम्भ गरेको नयाँ संसद भवन पनि गठबन्धन सरकारले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेको बताए । उनले नयाँ संसद भवनमा कुन मिति देखि संसदको बैठक बसाल्ने सरकारको तयारी छ ? भनी प्रश्न गरे । सांसद ढकालले नयाँ संसद भवनको निर्माण कार्यको प्रगति विवरण संसदलाई तुरुन्त जानकारी दीइयोस र सरकारले निर्धारित समयमै भबन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता यस सम्मानित संसदमा जाहेर गरोस् भनि आग्रह गरे ।