काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वासाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो गुठी संस्थान, ललितपुर कार्यालयका प्रतिनिधिले भोटो देखाउने चलन छ ।
लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मच्छिन्द्रनाथको रथलाई तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । रथ जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । सोहीअनुसार बिहीबार भोटो देखाइएको हो ।

अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्याइन्छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको थियो ।