काठमाडौँ । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठ पर्व मनाइँदै छ । चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने पर्वको मुख्य दिन आज व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।
षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा, भुसुवा र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ ।
कम्मरसम्म पानीमा चोपलिएर सूर्यलाई अर्घ्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अर्घ्य दिई व्रत समापन गरिन्छ ।