काठमाडौं । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनका लागि आगामी पौष २९ गते मिति निर्धारण गरेको थियो ।
सोही अनुसारको निर्वाचन तालिका सार्वजनिक गरिएको हो । नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
पौष १८ गतेको प्रदेश सभा बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउन र निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न सचिव खड्कालाई जिम्मेवारी दिएको छ । उनका अनुसार पौष २८ गते बिहीबारका लागि मनोनय दर्ता गरिने र सोही दिन बागमती प्रदेश सभा १०ः३० देखि २ः०० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ ।
सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसैगरी सचिव खड्काका अनुसार पौष २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।