काठमाडौं । मोरङको विराटनगरस्थित जिल्ला कारागारका १६ जनामा कोरोना संक्रमितलााई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उनीहरुलाई आजै कोभिड अस्पताल भर्ना गरिएको हो ।
कारागारको अवस्था खराब भएको बताउँदै कारागारका कतिपय कोठाहरू आइसोलेट गर्ने तयारी भएको दाहालले बताए । ‘संक्रमित भएको हुनसक्ने अन्य कैदी बन्दीहरुको कोभिड परीक्षणका लागि महानगरपालिकाले ५० वटा किट लिएर गएको पनि उनले बताए।
कारागारका एक कैदीको भने अत्याधिक ज्वरोको कारण मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण हो कि होइन भन्ने विषय अझै पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा महिला ब्लकमा भने कसैमा पनि कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कोरोना संक्रमण हुने सबै कैदी बन्दी पुरुषहरु हुन् ।