काठमाडौं । रुसले युक्रेनमा आफ्नो पहिलो चरणको ‘सैनिक कारवाही’ समाप्त भएको दाबी गरेको छ । रुसी सैनिक निकायका उप प्रमुख सर्गेई रुद्सकोईले प्रारम्भिक चरणको सैनिक कारवाही समाप्त भएको बताएका हुन् ।
यससँगै अब रुसको आक्रमण रुस समर्थित ‘राज्य’ हरु लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र समावेश रुसी भाषीको बाक्लो बसोबास रहेको डोनबास क्षेत्रमा केन्द्रित हुनसक्ने आँकलन गरिएको छ ।
पछिल्लो समय तीव्र युक्रेनी प्रतिरोधमाझ रुसी फौजले किभ, मारिउपोल, खारकिभजस्ता शहरमा नियन्त्रण जमाउन गरेको निरन्तरको प्रयास असफल भएको टिप्पणी भइरहेका बेला रुसी सेनाको यस्तो भनाइ आएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो अवस्थामा पछिल्लो घोषणासँगै युक्रेनमा जारी आक्रमणमा रुसी रणनीतिमा परिवर्तन आएको हुनसक्ने बताएका छन् ।