भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित अरनिको माध्यामिक विद्यालय अध्ययन गरेका पूर्व विद्यार्थीहरुले विद्यालयको सम्झना स्वरुप १० थान बेन्च १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेका छन् ।
२०५७ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उतिर्ण विद्यार्थीहरुको संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा तथा विद्यालयका सहायक प्रधानअध्यापक जनक न्यौपानेलाई आज उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयले प्रदान गरेको शिक्षा दिक्षा, हौसला र प्रेरणाका कारण समाजमा सक्षम नागरिक बन्न सफल भएको भन्दै २०५७ सालका २० जना एसएलसी व्याज विद्यार्थीहरुले विद्यालयको लागि १० थान बेच्न निर्माण गरी हस्तान्तरण गरेका हुन् ।
यसैगरी सोही ब्याचकी विद्यार्थी पूजा बस्नेत बिष्टले आफ्ना स्वर्गिय पिता रामजी बस्नेतको सम्झनामा विद्यालयको लागि एक थान फोटोकपी मेसिन हस्तान्तरण गरेकी छिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापाले विद्यालयका पूर्व विद्यार्थीहरुको यो कार्यको प्रशंसा गर्दै यसले अन्य विद्यार्थीहरुलाई समेत थप उर्जा प्रदान गरेको बताए ।
विद्यालयका सहायक प्रधानअध्यापक जनक न्यौपानेले आफ्ना पूर्व विद्यार्थीहरुको यस कार्यप्रति धन्यवाद दिँदै सबैको सहयोग र सद्भावका कारण नै शैक्षिक विकासमा योगदान दिन सकिने बताए ।
कार्यक्रम पूर्व विद्यार्थी दिपा ढुङ्गेलले विद्यालयले आफू र आफूजस्ता हजारौं विद्यार्थीहरुको भाविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै पूर्व विद्यार्थीहरुको रुपमा सहयोग गर्नु आफूहरुको दायित्व भएको बताइन् ।
विद्यालयमा अध्ययन पूरा गरी समाजका विभिन्न क्षेत्रमा जिम्मेवार भूमिका निर्वाह गरिरहेका पूर्व विद्यार्थीहरुको यस्तो कार्यले अन्य विद्यार्थीहरुलाई पनि प्रेरणा दिने पूर्व विद्यार्थी रविन न्यौपानेले बताए ।