काठमाडौं । माधवकुमार नेपालको साथ छाडेर केपी शर्मा ओलीतिरै रहने भएका एमालेका स्थायी कमिटी सदस्यहरु बैठकमा सहभागिताका लागि पुगेका छन् । तर उपाध्यक्ष वामदेव गौतम भने आजको बैठकमा अनुपस्थित भएका छन् ।
मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलाइएको स्थायी कमिटी बैठकमा ती नेताहरु पुगेका छन् । पार्टी विवादमा लामो समयदेखि नेता नेपालको पक्षमा उभिँदै आएका नेताहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले सोमबार दिउँसो ओली निवास बालकोट पुगेर उनीसँग सहमति गरेका थिए।
सहमति अनुसार ओलीले आजका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । सर्वोच्च अदालतको फैसलाले २०७७ फागुन २३ गते एमाले ब्युँतिएपछि ओलीले आफ्नो अनुकूलतामा आफू पक्षको बैठक राख्दै आफूलाई सहज हुने निर्णय गर्दै आएका थिए।
नेता नेपालको नेतृत्वमा ती नेताहरुले पनि समानान्तर बैठब गर्दै आएका थिए। फागुनदेखि कुनै पनि बैठकमा सहभागी नभएका उनीहरु झन्डै ६ महिनापछि ओली नेतृत्वको एमालेको बैठकमा सहभागी भएका हुन् । त्यसो त उनीहरु तत्कालीन नेकपा कामय रहँदा नै पुस ५ को कदमपछि ओली सहभागी बैठकमा सहभागी भएका थिएनन् ।
बैठकमा सहभागिताका लागि अमृत बोहरा पनि गएका छन् । उनी अनुशासन आयोगका अध्यक्ष हुन् । आजको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने भनिएको छ। त्यसका लागि ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेलको अनौपचारिका कार्यदल पनि बनाइएको छ।