काठमाडौं । नेकपा एमालेले भोलिलाई डाडेको स्थायी कमिटीको बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने भएका छन् ।
अहिलेसम्म नेपाल समूहसँग रहेर पनि नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न ओलीलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए ।
उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपश्चात भोलि डाकिएको स्थायी कमिटी बैठकमा उनीहरुको सहभागिता सुनिश्चित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
१० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
'१० बुँदे स्वीकार पहिला नै भइसकेको हो। भोलि स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने सहमति भएको छ,' उनले भने। दोस्रो पुस्ताका नेताहरुले ओलीले आफ्ना मागहरु सम्बोधन गरे एमालेमै रहने बताएका थिए। आफ्ना मागहरुमा ओली सकारात्मक रहेको पाण्डेले जानकारी दिए।
यस्तै, एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता सकारात्मक भएको बताए। उनले १० जना नेताहरु भोलिको बैठकमा सहभागी हुने जानकारी दिए। 'विभिन्न कारणले बैठकमा सहभागी नभएका कमरेडहरुले १० बुँदे प्रस्तावलाई कार्यावन गर्ने कुरामा जोड दिनुभयो,' उनले भने,'छलफल सकारात्मक र सौहार्द भएको छ। पार्टीका समस्या समाधान हुने भएको छ।'