काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विभिन्न कम्युनिस्ट घटकहरुसँग एकता प्रक्रिया सुरु गर्नेदेखि रिक्त विभागहरुमा नियुक्ति गर्नेसम्मका निर्णयहरु गरेको छ। आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा ६ घण्टा बसेको स्थायी कमिटी बैठकले नयाँ कम्युनिस्ट गठबन्धन बनाउने गरी एकता पहल थाल्ने निर्णय गरेको हो ।
माओवादीको यो निर्णय आगामी स्थानीय तहको चुनावलाई लक्ष्य गरेर गरिएको एक नेताले बताए । माधव नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाइरहेका बेला र एमालेमा ठूलो विभाजन देखिएको बेला माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका निर्णय सुनाउँदै एकता र ध्रुवीकरणको सम्भावना भएका सबैसँग वार्ता गर्ने निर्णय भएको बताए। त्यस्तै बैठकले पार्टीका विभागहरुमा प्रमुख तोकेको छ। खासगरी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुको ठाउँमा नयाँ पदपूर्ति गरिएको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार वडा, पालिका र प्रदेश अधिवेशन पनि गर्ने निर्णय भएको छ। त्यसका लागि पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र त्यसलाई तल्लो तहमा पठाउने तयारी भएको नेता श्रेष्ठको भनाइ छ ।
नेपाली राजनीतिक दलहरु टुटफुटमा लागिरहेका बेला माओवादी केन्द्रले विचार मिल्ने शक्तिसँग एकताको पहल गर्ने निर्णय गरेको हो ।