काठमाडौं । सरकारले पूर्णता पाउन अझै कम्तिमा दुई साता लाग्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विस्तार हुन नसक्दा गठबन्धनमाथि प्रश्न उठिरहेका बेला सरकार विस्तार अझ दुई साता पछाडि धकेलिएको हो ।
असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले चाहेर पनि चाँडै आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन नसक्ने भएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको पछिल्लो छलफलमा समेत कम्तिमा दुई साता मन्त्रिमण्डल विस्तार नगर्ने समझदारी भएको छ ।
बिहीबार बिहानै बालुवाटारमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच सरकार विस्तारबारे छलफल भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलमा अझै कम्तिमा दुई साता मन्त्रिपरिषद विस्तार नगर्न नेताहरु सहमत भएका हुन् ।
सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुँदै आएको छ । गठबन्धनमा रहेका पार्टीहरुमध्ये जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव समुहले बुधबार मात्रै फरक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले उनीहरुको आधिकारिकताबारे छिनोफानो नगरी मन्त्रिपरिषदलाई पनि पूर्णता दिँदा पछि पुन समस्या हुनसक्ने भएकाले आयोगको निर्णयअघि मन्त्रिपरिषदलाई पूर्णता नदिन गठबन्धनबीच समझदारी भएको हो । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै उक्त समझदारीबारे खुलासा गरेका हुन् ।
निर्वाचन आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएपछि सो पार्टीलाई समेत सरकारमा लैजाने गरी गृहकार्य भएको पुष्टि गर्दै प्रचण्डले भने, ‘जति छिटो उहाँहरुको सनाखत हुन्छ त्यति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’
माधव नेपालले नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरहरुले जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छन् । आयोगले नेता नेपालको पार्टीलाई मान्यता दिनासाथ उनको पार्टीका नेतालाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न बाटो खुला हुनेछ । तर, आयोगमा परेको निवेदनबारे छानविन गरेर दल दर्ताको मान्यता दिन कम्तिमा १५ दिन लाग्नेछ ।
प्रधानमन्त्री देउवाले आफूले सपथ लिएकै दिन माओवादीका दुई र काँग्रेसका २ मन्त्री नियुक्त गरेका थिए । त्यसको केही दिनमा काँग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर ६ सदस्यीय मन्त्रिमण्डल बनाए पनि अझै १७ मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्न बाँकी छ ।