काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरिए सरकारलाई महँगो पर्ने बताएका छन्। उनले एमाले फुटाउने षड्यन्त्रले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाए ।
संसद भवन नयाँ बानेश्वरमा मंगलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले फुटाउने कानून लागू भएमा राम्रो नहुने चेतावनी दिएका हुन् ।
‘पार्टी फुटाउने अध्यादेश ल्याउने यो कस्तो षड्यन्त्र होे ?,’ ओलीले भने, ‘यदि यो अध्यादेश खारेज गरिएन, एमाले फुटाउने कानूनमा लागू भयो भने सरकारलाई महँगो पर्नेछ ।’
ओलीले सरकार शुरूदेखि नै षड्यन्त्रमा लागिरहेको आरोप लगाए । ‘सरकार बनाउने होइन भत्काउने काममा लागेको छ, भूमि आयोग भत्काएर जनताको भावनामा खेलबाड गरेको छ,’ ओलीले भने, ‘भूमि आयोग तुरुन्त पुनःस्थापना गरोस् ।’