बुटवल । प्रमुख विपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। निर्धारित समय भन्दा डेढ घण्टा ढिला गरेर आज नवौं अधिवेशन अन्तर्गतको पहिलो बैठक बसेको थियो। सूर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाही गरिएको पत्र बैठकमा पढेर सुनाउनुपर्ने एमालेको माग थियो ।
बैठक सुरु हुने वित्तिकै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललले एमालेको संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे। सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रिया अनुसार अघि बढाउने बताएका थिए।
त्यसपछि एमालेका सांसदहरूले उठेर लगातार टेबुल ठोकिरहेका थिए। विपक्षी सांसदले टेबुल ठोकिरहँदा सभामुखले प्रदेश सभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद गठन भएको जानकारी प्रदेश सभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए।
यसअघि एमालेले सूर्य चिन्ह लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो। श्रीमान उत्तर कुमार वलीको मृत्युपछि उप चुनावमा विमला प्रदेश सभा सदस्यमा विजयी भएकी थिइन्। त्यतिबेला एमाले र माओवादी केन्द्र एक भएर नेकपा भएको अवस्था थियो।
पार्टी विभाजन पछि उनले माओवादी केन्द्र रोजेकी थिइन्। हाल प्रदेश सरकारमा विना विभागीय मन्त्री बनेका अजय शाही हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चिन्ह लिएर विजयी भएका थिए। उनले आफूले सूर्य चिन्हबाट विजयी भएपनि दलको सदस्य नभएकाले एमालेले कारवाही गर्न नसक्ने दाबी गरेका छन् ।