एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जाको करिब करिब नजिक पुगेको तालिबानलाई अमेरिकाले चेतावनी दिएको छ। अफगानिस्तानमा तालिबानले जति पकड जमाए पनि आफ्नो बाहिरिने योजना परिवर्तन नहुने भन्दै अमेरिकी अधिकारीलाई जोखिममा पार्ने काम भए कडा जवाफ दिने अमेरिकाले चेतावनी दिएको हो ।
सीएनएनका अनुसार अमेरिकाले मध्यसेप्टेम्बरसम्म आफू बाहिरिने योजनामा कुनै फेरबदल नहुने एक अमेरिकी अधिकारीले बताएका हुन् । तालिबानले १० दिनयता काबुल नै कब्जा गर्ने नजिक पुगिसकेको छ।
रोयटर्सलाई ती स्रोतले दिएको जानकारी अनुसार तालिबानले आफूविरुद्ध कथंकदाचित् हानि नोक्सानी पुर्याए मात्रै अमेरिकाले जवाफ दिनेछ। ‘चुस्त र बलियो सैन्य जवाफ दिनेछौँ, यदि अमेरिकी अधिकारीलाई तालिबानले खतरा पुर्याए भने’, ती अधिकारीले भने, ‘हामी हाम्रो दूतावासका अधिकारीलाई उद्धार गर्दै छौँ, त्यसमा कुनै अवरोध पुर्याइनुहुन्न।’
यसअघि राष्ट्रपति जो बाइडेनले पनि अफगान सेनालाई अमेरिकाले दिने हवाइ सहयोग, सैन्य तलब र खाद्य तथा हतियार आपूर्तिलाई निरन्तरता दिने बताएका थिए। उनले अमेरिकी सेना बाहिरिने निर्णयमा कुनै पछूतो नभएको बताएका थिए।