काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमी फिर्ता गर्न माग गरीन् ।आज राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमीबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूभि फिर्ता गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रिय सभा सदस्य इन्दु कडरीयाले जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको बताइन् । उनले सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्ने औल्याइन् ।
राष्ट्रिय सभा सदस्य उदय शर्मा पौड्यालले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको बताए । उनले परीक्षा एकाएक स्थ्गित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताए । बिस्तृत अध्ययन बिना हठातमा परीक्षा स्थगन गर्नुनहुने उनको तर्क थियो ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले दुईतिहाइ जनमतको कदर गर्न नसकेको नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाए । उनले नेपाली भूमी दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले सनर्माण गरिरहँदा पनि केहीनबोलेको बारेमा जनतालाई उत्तर दिनुपर्ने बताए ।
राष्ट्रिय सभा कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताइन् । उनले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरीन् ।
राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले डडेल्धुरामा हलिया मुक्तहरुले २०७६ सालमा दिने भनिएको आवास खरिदको रकम अझै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले ५६ घरधुरीले ३ लाख २५ हजार पाउने भनेपनि २ लाख २५ हजार मात्रै पाएको गुनासो गरे । राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रसाद पुरीले भू-उपयोग ऐन २०७६ पारित गरेपनि कार्यान्यन नभएको गुनासो गरेका छन् ।उनले उक्त ऐनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले कञ्चनपुरको भीमदत्त नगरपालिकामा मनलाग्दी शिक्षक नियुक्ति र सरवा कार्य भइरको बताए ।उनले शिक्षक संघले अनसन बसेको २५ दिन पुग्दा समेत सरोकारवाला निकायको ध्यान नगएको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले नगरपालिकाले बनाएको कार्यदल संवाद समितिले दिएको प्रतिवेदन विपरित् छानिछानि शिक्षकलाई दुःख दिने गरेको आरोप समेत लगाए ।