काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अतहर कमाल मुलसमानले विगतमा ओली सरकारले बालुवाटार र भैसिपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाइृ लालपुर्जा वितरण गर्ने बताए ।
सांसद आशाकुमारी बि.क.ले जनप्रतिनिधिको आर्थिक अवस्थामा दिन प्रतिदिन परिवर्तन हुन थालेको भन्दै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरे ।
सांसद उमा रेग्मीले असार लागेपछि मात्रै विकास निर्माणको काम गर्ने र बाढीले बगाउने गरेको भन्दै समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने बताए । जेठ १५ मा बजेट घोषणा भएपछि चालु आर्थिक वर्षको काम गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनले बताए ।
सांसद कल्याणी कुमारी खड्काले रौतहटको श्रीराम सुगर मिलले ३०३ जना मजदुरलाई कानून बमोजिम तलब नदिएको भन्दै तलव दिलाउन सरकारसँग माग गरे । सांसद केदार सिग्देलले यही आर्थिक वर्षभित्र भुमिहिन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै, सांसद खगराज अधिकारीले अपगानिस्तानमा नेपाली अलपत्र परेको भन्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल भित्राउन सरकारसँग माग गरे । नेपालीलाई नेपाल नर्फकाएसम्म सरकारलाई काम गर्न नदिने पनि उनले चेतावनी दिए ।
सांसद खेम प्रसाद लोहनीले बुढीगण्डकी जलविद्युत आयोजको डुबान प्रभावितहरुलाई क्षतिपुर्ति दिन सरकारसँग माग गरेका छन् । सांसद गजेन्द्र बहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गरे ।
सांसद गणेशकुमार पहाडीले वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको भन्न नसकेर समस्याको रुपमा उल्लेख गरेको भन्दै सरकारले कुटनीतिक पहल गर्न खुट्टा कमाएको बताए ।
सांसद गणेश सिंह ठगुन्नाले दार्चुलामा महाकाली नदीमा खसेर बेपत्ता जयसिंह धामी प्रकरणको प्रतिवेदन छिट्टै सार्वजनिक गर्न सरकारसँग माग गरे । सांसद गोपाल बहादुर बमले मुगुमा जिल्ला कारागार सञ्चालनमा ल्याउन माग गरेका छन् ।
सांसद जीवनराम श्रेष्ठले मेलम्ची खानेपानी आयोजना अवरुद्ध भएपछि काठमाडौंमा खानेपानी समस्या भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।