काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।
नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।
उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।
आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने संकेत गरेको थियो ।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा दोस्रो पटक शपथ खाएका पोखरेलले सोही दिन जनता समाजवादी पार्टीका चारजना सांसदलाई मन्त्री बनाएपछि पोखरेलमाथि संविधानको मर्मविपरीत काम गरेको आरोप विपक्षीहरूले लगाएका थिए।
दोस्रो पटक वैशाख २६ गते विपक्षी दलहरूले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेकोमा प्रदेश प्रमुखले सो प्रस्ताव प्रदेशसभामा ल्याउन अस्वीकार गरेका थिए ।