काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले विशेष महाधिवेशन गरेर संवैधानिक संकटबाट जोगाउनु पर्ने निष्कर्ष निकालेको छ। ठमेलको होटल यात्रीमा सोमबार र मंगलबार बसेको पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेलाले पार्टीको संवैधानिक संकट टार्न विशेष महाधिवेशनमा जान नेतृत्वलाई सुझाव दिएको नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताए ।
‘१३औँ महाधिवेशनका क्रियाशील सदस्य अनुसार विशेष महाधिवेशनमा गएर संवैधानिक संकटबाट पार्टीलाई जोगाउनु पर्छ भन्ने हाम्रो निष्कर्ष हो’ केसीले भने, ‘यसरी विशेष महाधिवेशन गर्दा ६ महिना देखि एक वर्षका लागि गर्नुपर्छ।’ छलफलमा अधिकांश सभापतिले विशेष महाधिवेशन गरेर संवैधानिक संकटबाट जोगाउनु पर्ने धारणा राखेका थिए ।
ताप्लेजुङका जिल्ला सभापति लीला बोखिमका अनुसार अब निर्धारित समयभित्र नियमित अधिवेशन गर्न नसकिने जिल्ला सभापतिहरूले ठहर गरेका छन् । जिल्ला सभापतिको भेलामा पौडेल समूहका शीर्ष नेताहरु उपस्थित छन् ।
अहिले वरिष्ठ नेता पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, सुजाता कोइराला, बलबहादुर केसी, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला गुरुङ, जीवन परियारलगायत उपस्थित छन् । यस्तै भेलामा महामन्त्री डा। शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, गगन थापा पनि पुगेका छन् ।