काठमाडौं । संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले पृथ्वीको औसत तापमान सन् २०३० सम्म एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने आफ्नो प्रतिवेदनमा भनेको छ ।
बढ्दो तापमानबाट विश्वभरमा मौसमसँग जोडिएका ठूलो आपत् आउने प्रतिवेदनमा भनिएको छ । विश्वले पहिलेदेखि नै हिउँ पग्लिने, समुद्रको बढ्दो स्तर र बढ्दो अम्लीकरणमा अपरिवर्तनीय परिवर्तनको अनुभव गरिरहेको छ ।
प्यानलको नेतृत्व गरिरहेकी वेलेरी मेसन डेलोमोटले केही परिवर्तन सयौँ या हजारौँ वर्षसम्म भइरहने बताउँदै त्यसलाई केवल उत्सर्जनमा कमीबाट नै मत्थर गर्न सकिने बताइन् । वायुमण्डलको तापमान बढाउने ग्यासको उत्सर्जन जसरी भइरहेको छ, त्यही कारण मात्र दुई दशकमा तापमानको सीमा टुटिसकेको प्रतिवेदनमा भनिएको छ ।
अहिलेकै अवस्था रहिरहे यस शताब्दीको अन्त्यसम्म समुद्रको जलस्तर झन्डै दुई मिटरसम्म बढ्न सक्ने यस अध्ययनसँग जोडिएका शोधकर्ताहरूले अनुमान गरेका छन् । यद्यपि ग्रीनहाउस ग्यासको उत्सर्जनमा ठूलो मात्रामा कटौती गरेर बढ्दो तापमानलाई स्थिर गर्न सकिने आशा रहेको प्रतिवेदनमा भनिएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले आईपीसीसी वर्किङ ग्रुपको पहिलो प्रतिवेदन 'मानवताका लागि खतराको सङ्केत' भएको बताएका छन् । सबै मिलेर जलवायु प्रकोपलाई टार्न सकिने र यसमा कुनै बहाना बनाउन नहुने महासचिव गुटेरसको भनाइ छ । साथै उनले विभिन्न देशका नेता र सरोकारवालाहरूलाई आउँदो जलवायु सम्मेलन सफल बनाउन अपिल गरेका छन् ।
आईपीसीसी संयुक्त राष्ट्र सङ्घको एक संस्था हो जसलाई जलवायु परिवर्तनको विज्ञानलाई आकलन गर्नका लागि सन् १९८८ मा स्थापना गरिएको थियो । आईपीसीसीले सरकारलाई विश्वव्यापी तापमान बढ्नुको वैज्ञानिक जानकारी प्रदान गर्दै आएको छ ।
यस प्रतिवेदनलाई संयुक्त राष्ट्र सङ्घको इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले तयार गरेको हो जसले १४ हजार भन्दा धेरै वैज्ञानिक कागजातको अध्ययन गरेको छ । आउँदा दशकमा जलवायु परिवर्तनले विश्वलाई कसरी परिवर्तन गर्नेछ भन्ने विषयमा हो अहिलेको सबैभन्दा ताजा प्रतिवेदन हो ।