काठमाडौं । सिन्धुपाल्चोकमा यस वर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको छ ।
समितिका आवद्ध अधिकारीहरूले आज सभामुख सापकोटालाई उनको निवास लैनचौरमा भेटेर मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अबरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षणपत्र बुझाएको हो ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत १ असार र १७ साउनमा आएको बाढीले भएको क्षतिसम्बन्धी प्रारम्भिक प्रतिवेदनसहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सञ्चालन गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधारभूत खानेपानी मर्मत गरी खानेपानीको आधारभूत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तीहरू स्थानन्तरण गर्न अस्थायी आवास निमार्ण सामग्रीको उपलब्धतालगायतका विषय समेटिएका छन् ।
ध्यानाकर्षणपत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए ।
गत २ असारमा बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् व्यवस्थापन क्षेत्रका विज्ञहरू, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरूसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिए ।
उनले १४ साउनमा गृहमन्त्री बालकृष्ण खाँणसँग तत्काल दुईवटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको बताए । सभामुख सापकोटाले शुक्रबार ऊर्जा मन्त्री पम्फा भुसालसँगको भेटमा बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सुचारु गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे ।