काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी नेतृ एवं पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औचित्य पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । नेतृ अर्यालले १२ लाख भूमिहीन गरिब नागरिकलाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा उपलब्ध गराउने गरी आयोगले काम गरिरहेका बेला सरकारले उनीहरूमाथि गम्भीर चोट पुर्याउने गरी आयोग विघटन गरेको भन्दै आपत्ति जनाइन् ।
‘१२ लाख भूमिहीन दलित, सुकुम्बासी र अव्यस्थित ढंगले बसोबास गरिरहेका गरिब जनतालाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा दिने तयारीका साथ अघि बढिरहेको आयोगलाई सरकारले विनाकारण विघटन गर्यो,' उनले भनिन्, 'जनता दसैँमा हर्षबढाईका साथ लालपूर्जा पाउने भयौँ भन्ने उत्साहित भएका थिए । तर, वर्तमान सरकारले एकाएक राजनीतिक पूर्वाग्रहको कारणले जुन ढंगले आयोग विघटन गर्यो, त्यसले यो सरकार भूमिहीन गरिबको होकी, होइन ? भन्ने प्रश्न खडा गराएको छ ।’
नेतृ अर्यालले केपी ओली नेतृत्वको अघिल्लो सरकारले कानुनसम्मत ढंगले सो आयोग गठन गरेको दाबीसमेत गरिन् । उनले भूमि ऐनको आठौँ संशोधन गरेर भूमिहीनको समस्या समाधान गर्न सो आयोग गठन गरे पनि वर्तमान सरकारले विघटन गरेर भूमिहीनमाथि लात हानेको आरोपसमेत लगाइन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै भूमिहीन गरिब नागरिकमाथि लात हानेर गम्भीर चोट पुर्याउनु भयो । यो सरासर गल्ती कुरा थियो,' उनले भनिन्, 'गठन आदेश संविधानसम्मत नभए सच्याउन सकिन्थ्यो । कानुन संशोधन गर्न परे संसदमा लग्न सकिन्थ्यो । यसका लागि पनि आयोग विघटन होइन्, ऐन संशोधन गर्न सकिन्थ्यो । यसले यो सरकारको नियत नै खराव देखिन्छ ।’
नेतृ अर्यालले वर्तमान सरकारले नयाँ आयोग बनाउने भने पनि भूमिहीनहरूको समस्या भने समाधान गर्न नसक्ने दाबीसमेत गरिन् । आफ्ना कार्यकर्ता भर्ती गर्न वर्तमान सरकारले आयोग गठन गर्न सक्ने भए पनि ती भूमिहीनहरूको समस्या भने समाधान गर्न नसक्ने उनले पटकपटक दोहोर्याइन् ।
नेतृ अर्यालले ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गर्नुको हतारो आफ्ना राजनीतिक कार्यकर्ता भर्ती गर्नु रहेको पुष्टि भएको पनि बताइन् । उनले भनिन्, ‘फेरि अर्को आयोग गठन गर्ने हो भने उहाँहरूलाई हतारो के रै'छ त भन्दाखेरी आफ्नो कार्यकर्ता भर्ती गर्नु । त्यही कारणले सो आयोग विघटन गरेको रै'छ भनेर बुझ्नु पर्यो नि ? लाभग्राही तिनै हुन । काम त्यही गर्ने हो भने किन विघटन गरेको ?’