जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दलमा सनाखत गरेका छन् । सांसद जितेन्द्र सोनलको नेतृत्वमा ११ सांसदले बुधबार सनाखत गरेका हुन् । लोसपासँग हाल २२ सांसद छन् ।
बुधबार प्रदेश २ निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी दलमा सांसदहरूले सनाखत गरेका हुन् । जसपा एकीकृत हुँदा पूर्वसमाजवादी फोरम का ३० र राजपाका २५ गरी ५५ सांसद थिए । जसपा विभाजन भएसँगै महन्थ ठाकुर पक्षले सो दलको आधिकारिकता गुमाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै ठाकुरले लोकतान्त्रिक समाजवादी दल दर्ता गरेका हुन् । दल विभाजन भएको २१ दिनसम्म सांसदहरूले दल रोज्न पाउँछन् । लोकतान्त्रिक समाजवादी दल यही भदौ १ गते निर्वाचन आयोगमा दर्ता भएको हो । सो दलले भदौ ९ गते आधिकारिकता पाएको थियो ।