काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइमानको हातमा पुगेको बताएका छन्।
नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले मंगलबार गरेको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति बढेको पनि बताए।
'देश नै अहिले बेइमानहरुले चलाएका छन्', ओलीले भने, ‘झुट बेइमानीबाहेक केही नहुने भएको छ। हाम्रो समाज छातीमा हात राखेर भन् भनेपछि झुटो बोल्न सक्दैनथ्यो। तर अहिले त्यो दिन रहेन।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोहोरी गीतमा आएको विकृतिबारे पनि बोले। ओलीले नेपालको मौलिक भनिएको दोहोरी गीत अचेल हेरिनसक्नु भएको गुनासो गरे ।
‘दोहोरी भनेर गीत गाउँछन्, यसो टेलिभिजनमा हेर्यो, के–के गाउँछ, के–के भन्छन्, हेर्दाहेर्दै उठेर भाग्नु पर्छ’, ओलीले भने, ‘अचेल त हेर्नै सकिँदैन के के भन्छन् भन्छन् ! दोहोरी हो कि रत्यौली हो चिन्न गाह्रो भयो।’
ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप लगाएका छन् । कार्यक्रममा ओलीले सभामुख, निर्वाचन आयोग र अदालतमाथि आक्रोश पोखेका थिए ।