काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापति पदका लागि आक्रामक रुपमा तयारी गरिरहेका डा. शेखर कोइरालामाथि संस्थापन इतर समूहले पदाधिकारीमा प्रतिष्पर्धा गर्न दबाब दिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा मंगलबार बसेको इतर समूहको बैठकमा नेताहरुले डा. कोइरालालाई १४ औं महाधिवेशनमा पदाधिकारीमा प्रतिष्पर्धा गर्न दबाब दिएका छन् ।
सभापति पदका आकांक्षीहरुको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व सहमहामन्त्रीद्वय डा. रामशरण महत, अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य बलबहादुर केसीले कोइरालालाई पदाधिकारीमा प्रतिस्पर्धाका लागि आग्रह गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार पौडेलले उनलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पराजित गर्नका लागि सवैले आफूलाई सघाउन आग्रह गरे ।
उनले डा. कोइरालाले पदाधिकारीमा प्रतिष्पर्धा गरेर आफूलाई सभापति पदमा सघाए देउवालाई हराउन सहज हुनेसमेत आशय व्यक्त गरे ।
तर, सभापति पदका बलियो उम्मेदवार मानिएका कोइरालाले पदाधिकारीमा प्रतिष्पर्धा गर्न अनिच्छा देखाएको बोहोराटार बैठकमा सहभागी स्रोतले जनाएको छ ।
बैठकमा पूर्वसहमहामन्त्री डा. महतले वरिष्ठ नेता पौडेल ‘सिनियर’ भएकाले उनको नेतृत्वमा महाधिवेशनमा जानुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ ।
बैठकमा पूर्वसहमहामन्त्री केसी र केन्द्रीय सदस्य केसीले पनि वरिष्ठ नेता पौडेल ‘सिनियर’ भएका कारण उनकै नेतृत्वमा महाधिवेशनमा प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएको स्रोतको दाबी छ ।
बोहोराटार बैठकमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु बलबहादुर केसी र डा. शेखर कोइराला सहभागी थिए ।
यसअघि भदौ ७ गते पनि संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्ने विषयमा छलफल गरेको थियो ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले पार्टीको वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी जुटाएको थियो ।
आकांक्षीहरु धेरै हुँदा इतर समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ ।
इतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षीका रुपमा देखिएका छन् ।