काठमाडौं– नेकपा एमाले परित्याग गरेर सुदूरपश्चिम प्रदेश सभाका १३ जना सांसदहरू नवगठित नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीहरूले आज (मंगलबार)नै प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि जाने तयारी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशीले १३ जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेको जानकारी दिइन् । उनी नव गठित एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।
‘हामी आजै सनाखतका लागि निर्वाचन कार्यालयमा जाने तयारी गरिरहेका छौं,’उनले भनिन्,‘एकजना साथी धनगढी आइपुग्दै हुनुहुन्छ। उहाँ पुगेपछि निर्वाचन कार्यालयमा जान्छौं।’
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित एमालेका २५ जना सासंद रहेका छन् । नेकपा एमाले विभाजन हुनु अघि अध्यक्ष केपीशर्मा ओली पक्षमा ७ जना मात्रै सांसद रहेका थिए ।
सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षमा थिए । नेपाल पक्षमा रहेकामध्ये १३ जनाले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा माधव नेपाल पक्षका सांसदले मत दिएका थिए ।
मन्त्री जोशीका अनुसार एकीकृत समाजवादीमा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का,भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद, पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामी एकीकृत समाजवादीतर्फ लागेका हुन् ।