काठमाडौं । मन्त्रिमण्डल विस्तार र पद बाँडफाँटको टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धको बैठक बिना निश्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको हो । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ पाँच दलले सहमति जुटाउन सकेका छैनन् । मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि पाँच दलको बैठक बिना निष्कर्ष उठेको हो ।
यो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच छलफल भएको थियो । सहमति जुट्न नसकेपछि आजै साँझ फेरी बस्ने गरी गठबन्धन बैठक उठेको छ । प्रधानमन्त्री देउवाको सचिवालयले बेलुका पनि सहमतिको प्रयास हुने बताएको छ ।
आज साँझको बैठकमा पाँच दलका सभापति र अध्यक्षहरू मात्रै बस्ने तयारी छ । मन्त्रालय भागबण्डामा गठबन्धनका सदस्य नेताहरुले अडान नछाडेपछि मन्त्रिपरिषद् विस्तारको गाँठो झन् कसिलो भएको छ ।
पाँच दलमध्ये कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच ६ मन्त्री र एक राज्य मन्त्री लिने करिब सहमति भएको छ । तर सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा गर्न नसक्दा समस्या भएको हो । आज सहमति जुटेको अवस्थामा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो ।
हिजो मात्रै सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार भएर सरकारले गति लिने बताएका थिए ।
तर सत्तारुढ दलहरु आफ्नो अडानमा कायम रहेपछि भोलि पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून रहेको देउवानिकट स्रोतले बताएको छ ।