काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी ‘दक्षिणपन्थी अवसरवादी’ पार्टी भएको बताएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर फर्किएका खनालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेका कारण नयाँ पार्टी निर्माण गर्नुपरेको बताए ।
“केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवादी पार्टी हो,” खनालले भने, “नेकपा एमाले त हाम्रो रगत र पसिनाले निर्माण गरेको पार्टी हो । तर, केपी ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिनुभयो । त्यसैले एउटा क्रान्तिकारी पार्टीको आवश्यकता पर्यो ।” उनले निजी स्वार्थ नभएका क्रान्तिकारीहरूले गर्ने विद्रोहको संख्या कति छ भन्ने कुराको महत्व नहुने बताए ।
“झापा विद्रोह सानो संख्याले सुरु गरेको थियो । त्यसलाई हत्या गर्न खोज्दा देशभर डढेलो लाग्यो,” खनालले भने, “अहिले पनि संख्या कति छ, त्यो महत्वको विषय होइन । क्रान्ति इमान्दारी र प्रष्टताका साथ सुरु गरेपछि सफल हुनछ ।”
साथै उनले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहने बताएका छन् । वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए ।
आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।