अमेरिकाले अफगानिस्तानमा आतंकवादीविरुद्ध हमला जारी राख्ने बताएको छ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले काबुल विमानस्थलमा हमला गर्नेहरूविरुद्ध आफूहरूको कारबाही अभियान जारी रहने बताएका हुन्।
आतंकवादी संगठन स्लामिक स्टेटको खुरासान समूह अर्थात् आईएसआईएस–केले बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो भने हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।
त्यसपछि अमेरिकी सैनिकले शुक्रबार राति अफगानिस्तानमा आईएसआईएसलक्षित ड्रोन आक्रमण गर्दा काबुलमा विस्फोट गराउनेका योजनाकार मारिएको दाबी अमेरिकाले गरेको छ।
फेरि आइतबार पनि काबुलमा आत्मघाती कार बम विस्फोट गराउन लाग्दा त्यसअघि नै ड्रोन हमला गरी विफल पारिएको अमेरिकाले दाबी गरेको छ। तर त्यस क्रममा ६ जना बालबालिकासहित ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कार बम हमला गर्न लागेका आतंककारीचाहिँ मारिए मारिएनन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन।
यही अगस्ट १५ तारिखदेखि अफगानिस्तानको सत्ता तालिबान समूहले कब्जा गरेको छ। त्यसयता काबुल विमानस्थलमा अफगानिस्तान छाड्नेको भीड लाग्ने गरेको छ। त्यही क्रममा त्यहाँ बम आक्रमण भइरहेका हुन्।
यसैबीच अमेरिकाले अफगानिस्तानमा आफ्ना १३ सैनिकसमेतको हत्या गर्ने आतंककारीविरुद्ध आफ्नो हमला जारी रहने जनाएको हो।
आइतबार सीबीएस न्जुनसँग कुरा गर्दै अमेरिका अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभनले भने, ‘राष्ट्रपति जो बाइडेन अफगानिस्तानमा नयाँ युद्ध थाल्न चाहनुहुन्न। तर हाम्रा सैनिकविरुद्ध हमला गर्नेहरू समाप्त पार्न कस्तो प्रकारको मद्दत चाहिन्छ भन्नेबारे हामी हाम्रा कमान्डरसँग कुरा गर्छौं। जसले गर्दा आईएसआईएस–के इस्लामिक स्टेट–खुरासानको आतंक अन्त्य सुनिश्चित गर्न सकियोस्।’