काठमाडौं । नयाँ सरकारमा मन्त्रीपरिषद्को पूर्णताको गृहकार्य सुरु भएको छ ।
सरकारको गठबन्धन आबद्ध नेताहरु मन्त्रीपरिषद्लाई पूर्णता दिने गरि छलफल गरिरहेका छन् ।
केपी ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको माओवादी केन्द्रले ६ मन्त्रालय पाउने देखिएको छ ।
माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसालले जिम्मेवारी पाइसकेका छन् । अब बढीमा चारजना मन्त्री हुनेछन्।
माओवादीमा अहिले मन्त्रीका रुपमा स्थायी समितिमा रहेका नेतामध्ये नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ लगायतको नाम चर्चामा छ ।
श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको माओवादी स्रोत बताउँछ। गजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरे पनि त्यसमा सफल भएका थिएनन् ।
त्यही कारण यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि अरुभन्दा बढी चर्चामा छ ।
मधेशबाट मन्त्रीका लागि मातृका यादव र अमनलाल मोदीको नाम चर्चामा छ । यादवले यसअघि अवसर पाइसकेकाले मोदी मन्त्री हुने सम्भावना बढी रहेको बताइन्छ ।
महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिला नेताले मन्त्री हुने अवसर पाउन सक्ने माओवादी नेताहरु बताउँछन्। त्यसो हुँदा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट मन्त्री बन्ने चर्चा माओवादीभित्र छ ।
यसबाहेक सुदन किराँती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको छ ।