काठमाडौं । नेपाली कांग्रेसले आशन्न १४ औं महाधिवेशनका लागि वडादेखि जिल्लासम्म अधिवेशन गर्नका लागि ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ ।
वडा अधिवेशन सुरु हुन एक सातामात्र बाँकी रहेका बेला कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको हो ।
गत साउन ३० गते सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
निर्वाचन समितिले वडादेखि जिल्लासम्मका विभिन्न तहको अधिवेशन गराउन केन्द्रीय निर्वाचन अधिकृतहरु खटाएको जनाएको छ ।
समितिले ताप्लेजुङमा तिलक पाण्डे, पाँचथरमा मदन खड्का, संखुवासभामा भरतराज उपाध्याय, तेह्रथुममा लक्ष्मणलाल रञ्जित, खोटाङमा विकास भट्टराई र सोलुखुम्बुमा कैलाश गुरुङलाई निर्वाचन अधिकृत खटाएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी ओखलढुंगामा किर्तीनाथ शर्मा, उदयपुरमा खुशीराम गौतम, झापामा सुवोधबाबु सिलवास, दोलखामा चक्रबहादुर थापा, रामेछापमा विष्णु लुईंटेल र सिन्धुलीमा लेखकबहादुर खड्काले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।
यस्तै भक्तपुरमा मुकुन्द शर्मा पौडेल, लमजुङमा थानेश्वर दवाडी, तनहुँमा फणेन्द्र कोइराला, मनाङमा वशन्त रिमाल, पर्वतमा विश्वास आचार्य, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गोविन्द सिग्देल र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बाबुराम पाण्डेयलाई खटाइएको छ ।
निर्वाचन समितिका सचिव श्रेष्ठले रुपन्देहीका लागि भूमिश्वर गौतम, रुकुम पूर्वका लागि सूर्यबहादुर वली, रुकुम पश्चिमका लागि मुक्ति उपाध्याय, मुगुका लागि नरेन्द्रबहादुर सिंह, जाजरकोटका लागि सूर्यबहादुर शाह र दैलेखका लागि विवस बस्नेतलाई जिम्मेवारी दिइएको बताए ।
कांगेसले ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको बताइए पनि निर्वाचन समितिले उपलब्ध गराएको नामावलीमा ३६ जिल्लामा खटाइएका निर्वाचन अधिकृतहरुको मात्रै नाम उल्लेख छ ।
कांग्रेसले निर्वाचन समितिलाई बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको थियो । क्रियाशील सदस्य नामावली पाए लगतै निर्वाचन समितिले बिहीबार रातिनै निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिएको छ ।
यसैबीच, नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा सुरु गरेको अनशनलाई निरन्तरता दिने भएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरुले बुधवारबाट रिले अनशन थालेका थिए ।
अनशन आज पनि जारी रहने सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिए । आज सिन्धुपाल्चोकका सभापति लामा, सोलुखुम्बुका कांग्रेस जिल्ला सभापति विनोद बस्नेत र रोल्पाका कांग्रेस सभापति अमरसिंह पुन रिले अनशनमा बस्ने तय भएको छ ।
कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची बिहीवार वेबसाइटमा सार्वजनिक गरिसकेको छ । सबै जिल्लाको नआएसम्म अनशन जारी रहने जिल्ला सभापतिहरुको भनाई रहेको छ ।