काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जेबी टुहुरेको निधनको खबरले स्तब्ध बनाएको जनाएका छन् । टुहुरेको बिहीबार दिउँसो उपचारका क्रममा निधन भएको थियो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले टुहरे नेपाली वाम(लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्त निष्ठावान् व्यक्तित्व भएको जनाएका छन्।
नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा टुहुरेले विशिष्ट योगदान पुर्याएको प्रचण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। टुहुरेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समस्त शोकाकल परिवारजनमा प्रचण्डले गहिरो समवेदना व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार, दोस्रो संविधान सभाका सदस्य टुहरेको बिहीबार दिँउसो वयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। भदौ १ गते काठमाडौंको कलंकी स्थित निजी निवासमा अचानक मस्तिष्क पक्षघात (स्ट्रोक) भएपछि बयोधा अस्पतालको सिसियु कक्षमा उनको उपचार भइरहेको थियो ।
मुटु, मधुमेह, फोक्सो र उच्च रक्तचाप समेतको समस्या झेलिरहेका ७८ वर्षीय हरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार जारी राखिएको थियो।
वि.स. २००१ साल कार्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मिएका टुहुरेले ०२४ सालदेखि गीत रेकर्ड गराउन थालेका थिए। वि.स. २०२५ सालवाट पूर्व कोशी प्रान्तीय कमिटी मार्फत् कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए।
वि.स. २०३४ सालमा रेकर्ड भएको उनको आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधै प्यासी बनेरू बोलको गीत चर्चित गीत हो। टुहुरेले गीत संगीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रीका विरुद्ध जनतालाई जागत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रही उल्लेखनीय योगदान पुर्याएका थिए।
टुहुरे २०५२ देखि २०५९ सम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० सालमा तत्कालीन एनेकपा (माओवादी) बाट संविधानसभाको सदस्य बनेका थिए। त्यस बखत उनले व्यवस्थापिका संसदको श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारी समेत निर्वाह गरेका थिए।