पोखरा । कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो । छोटो बसाइमा सहजरूपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ ।
पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरू घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिए । 'पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता पर्यटक लक्षित गरेर ६ सयको प्याकेजमा घुम्ने व्यवस्था गरेका छौँ,' भट्टले भने । पर्यटकले उक्त प्याकेजमा २५ सिट क्षमताका बसमा पोखराका प्रमुख पर्यटकीय गन्तव्य जानकारीसहित घुम्न पाउनेछन् । असोज १ देखि यो सेवा सुरु भएको हो ।
रुट १ को बस हल्लनचोकबाट छुट्नेछ । विन्ध्यवासिनी मन्दिरको दर्शनसँगै पर्यटकलाई चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ । त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामको लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ।
रुट २ मा पोखराको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान यात्रा सुरु हुनेछ । पर्यटकलाई विन्ध्यवासिनी मन्दिरको दर्शन गराएर सराङकोटको भ्यूटावर पोखराको बजारको अवलोकन गराइन्छ । पोखराको पुरानो बजार मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित बञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानको समय हुनेछ । त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ ।
यात्रामा अवलोकन गर्ने ठाँउहरूको प्रवेश शुल्क र खानाको खर्च आफैँ व्यवस्था गर्नुपर्नेछ । बस टिकट इसेवाबाट र ट्राभल एजेन्सीबाट काट्न सकिनेछ । भारतीय नागरिक र आन्तरिक पर्यटकले यो प्याकेज बढी रुचाएको भट्टले बताए ।