ताप्लेजुङको दोभान बजारमा मंगलबार बिहान लागेको आगोबाट लाखौको धनजन क्षति भएको छ । अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्प पीडितसरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका –३ मा रहेको दोभान बजारमा मंगलबार आगलागी भइ करिब ५० घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्निपीडतको दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण घरबारविहीन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागी बाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन माग गरिएको छ ।
यस्तै आगलागी पीडितको लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।