काठमाडौँ- उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु् लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश-१ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
आज राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।