काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्र्बधन गर्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बडादसैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैँ मनाउन आग्रह गरेकी हुन् ।
“आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, शुभकामना सन्देशमा भनिएको छ । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गरेकी छन् ।
यसैबिच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वडा दशैको अबसरमा शुभकामना दिदै कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र दशै मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका छन् ।
कोरोना महामारीका कारण यस वर्षको दसैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।