काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो ।
मुख्य प्रशिक्षक यम गुरुङले प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेको एन्फाले जनाएको छ । महिला यू–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।