काठमाडौं । जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पौष १८ र १९ गते काठमाडौंमा बस्नेछ ।
मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०–२१ गते मात्र संसदीय दलको नेता चयन हुने बताइएको हो । आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ ।
प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् । उनीहरू बैठकमा व्यस्त रहने भएका कारणले नेता चयन प्रक्रिया लम्बिने भएको छ ।
संसदीय दलको नेता चयन गर्नका लागि लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिएको छ । सो समितिले आफ्नो चुनावी प्रक्रिया सुरु गरिसकेको छ ।
संसदीय दलको नेता सर्वसम्मतिले चयन हुने सम्भावना छ । सहमति नभए मात्र चुनावमा जाने जसपाका प्रदेश सभा सदस्य सञ्जय यादवले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादव जनकपुर गएर प्रदेश सभाका सदस्यहरूसँग छलफलसमेत गरेका थिए । छलफलमा उनले प्रदेश सभाका सदस्य सबैजना संसदीय दलका नेताका लागि योग्य रहेको तर त्यसमध्ये एकजना मात्र नेता हुने प्रावधान रहेकाले सहमतिमा चयन गर्न सुझाव दिएका थिए ।
प्रदेश सभाका सदस्य राजकुमार गुप्ताले प्रदेशका केही सांसद केन्द्रमा सुरु भएको बैठकमा सहभागी हुनुभएको कारणले उनीहरूको अनुपस्थितिमा सहमतिका लागि छलफल हुने सम्भावना कम रहेको बताए । नेताहरू आन्तरिक छलफलमा रहेकाले सहमतिमै टुङ्गो लाग्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले अन्तिममा सहमति नभए चुनाव प्रक्रियाबाट टुङ्गो लगाउने बताए ।
यता, काठमाडौँमा सुरु भएको कार्यकारिणी समितिको बैठक र त्यसपछि हुने राजनीतिक समितिको बैठकमा पनि मधेस प्रदेशको बारेमा छलफल हुने बताइएको छ । मधेस प्रदेश सरकारको नेतृत्व जसपाको भागमा पर्ने सम्भावना रहेकाले संसदीय दलको नेता बन्नेहरूको दौडधुप बाक्लिएको छ ।
लालबाबु राउत, रामअषिश यादव, सरोज यादव, राजकुमार गुप्ता, नवलकिशोर साह, मनिष सुमनलगायतले संसदीय दलका नेताको आकाङ्क्षी हुन् ।