काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत मागअघि सार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर शुक्रबार सो पार्टीले पाँच बुँदे मागसहित नागरिक स्मरण पत्र बुझाएको हो ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूको माग सम्बोधन नभएसम्म प्रदेश सरकारमा पनि सहभागी नहुने र कुनै पनि गठबन्धनलाई सहयोग समर्थन नगर्ने बताएका छन् ।
स्मरण पत्रमा उल्लेख छ, ‘२०७२ सालको टीकापुर घटनाको आरोपितहरू जो जेलमा बन्दी हुनुहुन्छ । उनीहरूको निःशर्त रिहाइ, ५८ जनाको नाममा रहेको मुद्दा खारेजी र उक्त घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न बनेका सम्पूर्ण आयोगका प्रतिवेदन सार्वजनिक नहुँदासम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै पनि गठबन्धनलाई सहयोग र समर्थन पनि नगर्ने स्मरण गर्न चाहान्छौ ।’
खास गरी माग सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकार गठनमा कसैलाई पनि सहयोग नगर्ने आशय व्यक्त गरिएको हो । त्यस्तै सो स्मरण पत्रमामा जेल जीवन बिताइरहेका पार्टीका संरक्षक रेशम चौधरी र प्रम प्रचण्डबीच भारतमा भएको भेटवार्तालाई पनि उल्लेख गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले २०७२ सालमा थारुले चलाएको आन्दोलन विशुद्ध राजनीतिक पहिचानको भएको भन्दै यो एजेण्डा नै प्रचण्ड नेतृत्वको पार्टीले उठाएको भनेर स्मरण गराएको छ ।
त्यस्तै, १० वर्षे जनयुद्धमा हजारौँ थारुको बलिदानी भएको स्मरण गर्दै टीकापुरमा घटेको घटनाको कथित आरोपीलाई राजनीतिक मुद्दा मानेर निसर्त निर्दोष करार गरेर सम्पूर्ण मुद्दा खारेजी गरी राजबन्दी रिहा गरिदिन समेत माग गरिएको छ ।